Thaha

Tuesday 07 May - 2:16 pm NST

भूकम्प प्रभावितको आत्मविश्वास बढाउन सरकारलाई मनोचिकित्सको आग्रह

Caption

 काठमाडौं, १९ वैशाख । मनोचिकित्सकहरुले भूकम्प प्रभावितको आत्मविश्वास बढाउने काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आज काठ्माडौंमा आयोजित मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालको १३ औँ बार्षिकोत्सवका अवसरमा बोल्दै उनीहरुले सुरक्षित घरसँगै शारीरिक र मानसिक स्वाथ्य पनि उत्तिकै महत्वपूर्ण भएको बताए । भूकम्पका कारण बालबालिकाहरुमा चर्को मनोबैज्ञानिक असर परेको उनीहरुको भनाई छ । मनोचिकित्सकहरु पशुपति महत, सरोज ओझा, सुरेन्द्र शेरचन, मनोविद् मधुविलास खनाल लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा गतवर्षको विनाशकारी भूकम्पपछि सीएमसी नेपालले ३५ हजार ८ सय जनालाई मनोपरामर्श सेवा प्रदान गरेको जानकारी गराइएको थियो । संस्थाका कार्यकारी निर्देशक रामलाल श्रेष्ठले बालमैत्री विद्यालय, बालमैत्री शिक्षण बिधि र सकारात्मक अनुशासन बिधि अपनाउन प्रेरित गर्दै एक वर्षको अवधिमा १० जिल्लाका ४ सय शिक्षकलाई मनोमरामर्श तालिम दिईएको बताउनुभयो । सीएमसीका अध्यक्ष डाक्टर कपिलदेव जोशीले बैदेशिक रोजगारमा जाने व्यक्ति र तिनका परिवारका सदस्यलाई मनोसामाजिक सहयोगको खाँचो औंल्याँउदै आँफूहरु सरकारसँग हातेमालो गर्न उत्सुक रहेको बताउनुभयो । कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डाक्टर हरि लम्सालले विज्ञहरुले दिएका  सुझाव अधिकतम सम्बोधनको प्रयत्न गरिने आश्वासन दिनुभयो । कार्यक्रममा मानसिक स्वास्थ्य तथा परामर्शसँग सम्बन्धित तीन वटा पुस्तक समेत विमोचन गरिएको थियो ।